Monday, November 9, 2009

किरात येले संवत् चुनौती र सम्भावना

अमर तुम्याहाङ
पृष्ठभूमि:
वर्तमान किरात जाति नेपालको प्राचीन सभ्यताको स्वर्णिम युगको थालनी गर्ने जाति हो । यो बारेमा विभिन्न वंशावलीहरूमा फरकफरक मतहरू रहे तापनि तात्कालिक अवस्थामा हामीले तिनै वंशावलीहरूलाई प्रमाणको रूपमा लिनु पर्ने हुनाले ती वंशावलीहरूमा किरातकालमा विकसित विभिन्न कुराको स्ष्टरूपमा उल्लेख गर्दै यी कुराको पुष्टि गरेको पाइन्छ । ती इतिहासका पानाहरूलाई केलाउने हो भने हालसम्मको सबैभन्दा लामो समय अवधिसम्म शासन गर्ने र कुशल शासकको रूपमा किरातकालीन युगलाई सम्झने गरिन्छ । तिनै महान्तथा गौरवमयी शासकको दरसन्तान हामी आज अदृश्य समयको सीमाभित्र अनेकौँ दर्दनाक पीडा, कुण्ठाहरू लिएर बाँच्न बाध्य भएका छौँ । हामीलाई थाहा छ, समयले धेरै वसन्तहरू पारगरिसकेको छ । तथापि, हामी समयलाई पछ्यौउँने क्रममा यी वसन्तको बहारलाई बुझन सकेनौँ र बुझने कोशिस पनि गरेनौँ । तर, अब त्यो परिस्थितिभन्दा यो समय निक्कै अगाडि लम्किसकेको छ । भनिन्छ- जमाना भूमण्डलीकरणको हो, त्यसैले होला एउटा सानो कोठामा बसेर पनि संसारभरिको सूचना-तस्वीरहरू लिन सक्छौँ । यी त भए समयले दिएको सुविधाहरू तर यसमा मात्र रमेर कोही पनि गर्व गर्न सक्दैन किनभने मान्छेको पहिलो परिचय आफ्नो संस्कार-संस्कृति, सभ्यता, भाषा, लिपि आदि हो । यदि यो कुरालाई हामीले बचाउन सकेको खण्डमा मात्र गर्वको साथ हामी पनि बाँच्न सक्छौँ ।यो देशका शासकहरूलाई यो कुरा स्पष्ट थाहा छ । मै आऊँ, मै लाऊँ सिद्धान्तपे्रमी शासकहरू अझै पनि हामीलाई पीडित बनाउँन चाहन्छन् । बचेखुचेका हाम्रो साँस्कृतिक धरोहरहरूलाई खोजीखोजी निमिट्यान्न पार्ने होडमा लागेका शासकहरूलाई चुनौती दिन र आत्मारक्षाको लागि हामी सबैजना एक हुनु आजको पहिलो काम रहेको छ । समयको गतिलाई हामीले बुझन सकेनौँ भने फेरि हामी र हाम्रो सन्ततिको लागि थप कालो इतिहास कोरिनेछ र आउने हाम्रा सन्तानहरूले हामीलाई धिकार्ने छन् र हामी तिनीहरूका लागि सम्झन योग्य हुने छैनौँ । त्यसैकारण, यो महान् यात्रामा तपार्इंहरूले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध पनि गर्दछौँ ।
एक विषयसँगै अनेकौँ यात्राको पूर्वतयारी
हामीसँग 'किरात येले संवत्' प्रमुख विषय रहे तापनि सयौँ क्षितिजहरू पार गर्नको लागि यात्रा तयार गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । यसको लागि आवश्यक पूर्वाधारहरू तयार गर्नु पर्ने हुन्छ र यो आवश्यक पनि छ । यो पूर्वाधार तयारीको लागि कुनै एक व्यक्ति वा कुनै एक संस्थामात्र लागि परेको खण्डमा सम्भावनाको बाटो निश्चित रूपमा बन्द हुनेछ । यसको लागि सबैबाट सद्भाव र सहयोगको आवश्यकता हुनु अपरिहार्य छ ।किरात येले संवत् अर्थात् यलम्बर हाङको शासनकालको किटानी गर्ने विषय आजसम्म धेरै इतिहासकारहरुले दुरुह माने र अध्ययन अनुसन्धानको क्षेत्र बनाउन शाहस गरेनन् । सौभाग्यवश समयले यस्तो मोड ल्याइदियो कि प्राचीन नेपालको इतिहासका ज्ञाता एवम् संवत्विद् प्रोफेसर डक्टर जगदीशचन्द्र रेग्मी र लिच्छवि संवत् र लिच्छवि इतिहासका ज्ञाता प्राध्यापक दिनेशराज पन्तले यो दुरुह र असाध्य मानिएको विषय अर्थात् नेपालको किरातकालीन इतिहासको विषयमा जोदाहा भएर उधिन्ने अभियान छेड्नु भएको छ । श्रद्धेय इतिहासकारद्वयको साहस र किरातकालीन इतिहासलाई हामी किरातीहरुले आफ्नो अस्तित्वको मुटुको रुपमा लिने हाम्रो अन्तरहृदयको चाहनाको कारणले नेपालको इतिहासको मुहार नै फेरिने सङ्केत देखिएको छ । अहिले किरात येले संवत् अर्थात् यलम्बर हाङ विषयमा खोज अनुसन्धान गर्ने सानो प्रयासले पहाड खनेर मुसा मात्र भेट्ने उखानलाई लात मार्दै चपरी खनेर मोती भेट्ने नयाँ इतिहास बन्ने तथ्य हाम्रो सामु देखिइसको छ भन्नु अत्युक्ति नहोला । अब किरात येले संवत् र यलम्बर हाङसँग जोडिएको इतिहास किराती समुदायको चासोको विषयभन्दा माथि उठेको छ र राष्ट्रिय वहसका विषय बन्नुका साथै हाम्रो प्राचीन इतिहासको विसद् उत्खनन, अध्ययन-अनुसन्धान र बहसको विषय बनेको छ, बौद्धिक सिँगौरी खेल्नेहरूलाई यस बहसको मैदानमा उत्रिएर विजयी हुन पनि वातावरण तयार गरेको छ ।
सफलताको मेरुदण्ड आर्थिक स्रोत नै हो:
हरेक कुरालाई सफलताको उचाइसम्म पुर्‍याउँनको लागि त्यसको प्रमुख साधन आर्थिक व्यवस्थापन नै हो । यही मान्यतालाई मनन गर्दै हामीले यो यात्रालाई टुङ्गोमा पुर्‍याउँनको लागि केही सिर्जनात्मक कार्यक्रमहरू लिएर तपार्इंहरूसँग अनुभव आदाप्रदान गर्न आजको यो भेला उपयुक्त र ऐतिहासिक हुने छ भन्ने अपेक्षा लिएका छौँ ।औपचारिक रूपको यो एक वर्षे यात्राको दौडमा हरेक पक्षबाट हामीलाई एउटा अध्ययन गर्नको लागि विद्यार्थी खोज्नको लागि सल्लाह सुझाव प्रसस्तमात्रामा आयो तर यसको लागि कोही पनि तयारी हुने अवस्था रहेन । यसो हुनको कारणहरू धेरै भए तापनि प्रमुख कारकचाहिँ आर्थिक नै थियो । जुन विषयमा अध्ययन गराउँन खोजिरहेका थियौँ त्यो विषय कुनै मोफपसलमा रहेर गर्ने परिस्थिति छैन् । उसले काठमाडौँमा नै रहेर यो विषयमा व्यापक अध्ययन गर्नुपर्ने हुन्छ । यही कुरालाई लिएर बारम्बार वरिष्ठ साहित्यकार प्राज्ञ वैरागी काइँलाले चार किरात संस्थाहरूलाई बिउँताउने प्रयास गर्नुभयो तर कतैबाट पनि यस विषयमा सक्रिय प्रतिक्रिया आएन । यो किरात सभ्यताको उत्खनन् गर्ने कामको लागि ठूलो सपना थियो । यो सपनालाई विपनामा बदल्ने पात्र हाम्रा संस्थाहरू बन्न तत्पर नबनेको अवस्थामा आज यो यात्रासँगै त्यो सपनाको मूल पात्रको रूपमा खडा हुँदै एउटा अक्षयकोषको निर्माणार्थ तपार्इंहरू समक्ष यो समिति भित्रैदेखि सहयोग गरी दिनहुनको लागि हार्दिक अनुरोध गर्दछ । यदि तपाईहरूले यस कार्यमा सहयोग गर्नुभयो भने हाम्रो त्यो स्वर्णिम युगको इतिहास अरूको जस्तै पुनर्लेखन गर्नको लागि दुरुह विषय रहने छैन ।
प्रतिबद्धता:
'कसैले पनि काटिमार्ने छोरा वा छोरी जन्माएको हुँदैन रे अनि कसैसँग अरूलाई सित्तैमा दिने सम्पत्ति पनि हुँदैन रे' यो उक्ति सही जस्तो लाग्छ । तपार्इंहरूले पनि हामीलाई गर्नुहुने सहयोगको दुरूपयोग भएजस्तो लागेमा एकएक हिसावकितावको लेखाजोखा माग्न सक्नुहुनेछ र हामी त्यसलाई पारदर्शी तरिकाले तपार्इंहरूसमक्ष पेशगर्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छौँ ।
किरात येले संवत् अध्ययन समन्वय समितिको स्थान:
किरात येले संवत्को लोकप्रियातासँग-सँगै यसलाई किरात समुदायहरूले अनेकौँ रूपमा प्रयोग र प्रचलनमा ल्याएर चिनाउने प्रयास गरे । त्यो गौरवमयी कुराको थालनी मान्नुपर्दछ । तर त्यसरी जाँदाखेरी हामी बीचमा कति हदसम्म यो संवत्ले स्थान पाउँछ या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउँछ भन्ने कुराको स्वरूप हामी बीचमा समयले प्रश्न तेर्साइदियो र त्यसमा रहेका विभिन्न रूपहरूको खोजी गर्नुपर्ने आवश्यकता अगाडि आएको अवस्थामा किरात समन्वय समिति -२०६६/०५/२५) को एक अभूतपूर्व निर्णयले नाममा एकरूपताको सहमति लियो र सबै किरात सङ्घ-संस्थाहरूले 'किरात येले संवत्' को नाममा चलिरहेको संवत्लाई प्रयोग गर्नुपर्ने निर्णयपछि नामको बारेमा खड्किरहेको अन्योलता हटेको छ । तर यसलाई ऐतिहासिक तथा वैज्ञानिक रूपमा प्रामाणिक बनाउँदै तार्किक निष्कर्षमा पुर्‍याउँनका लागि अनगिन्ति अप्ठ्याराहरूको सामाना गर्दै अगाडि बढ्नु पर्नेछ । सायद, त्यही कुरालाई मध्यनजर गरेर हुनसक्छ त्यो महान् यात्राको सुभाराम्भको जिम्मा हालसालै किरात समन्वय समितिको एक निर्णयले मुन्धुम पब्लिकेसन तथा नवसमन्वय पब्लिकेसन प्रा.लि.लाई सुम्पेको थियो । त्यही जिम्मेवारीलाई अङ्गीकार गर्दै यी संस्थाहरूले बृहतताका लागि वरिष्ठ साहित्यकार प्राज्ञ वैरागी काइँलाको संयोजकत्वमा 'किरात येले संवत् अध्ययन समन्वय समिति' गठन गर्दै जिम्मेवारीको शुभाराम्भ गरिसकेको छ ।
किरात येले संवतका ती दिनहरू:
नामको विविधता हुँदाहुँदै पनि छलफल तथा अन्तरक्रिया कार्यक्रम विविध क्षेत्रबाट बेलाबेलामा भइरहेको थियो । यो संवत्लाई उल्लेख गरेर विभिन्न सङ्घ-संस्थाहरूले क्यालेन्डर निकाले । यसलाई अझ परिमार्जित गर्नको लागि यस क्षेत्रसँग चासो राख्नुहुने व्यक्ति, सङ्घ-संस्थाले परिकल्पना नगरेका होइनन् । बेलाबेलामा चार किरात संस्थामध्ये केही संस्थाले यस विषयमा खोजअनुसन्धान गर्ने भनेर निर्णयहरू त गरे तर ती निर्णय, निर्णयको गर्भभित्रै रहृयो । यद्यपि २०५८ सालमा किरात याक्थुङ कलाकार सङ्घ धरानले 'येले संवत् र किरात' विषयक विचार गोष्ठी आयोजना गरी समुदाय तथा किरात सङ्घ-संस्थाहरूलाई तताउँने प्रयास गर्‍यो तर दुर्भाग्य यसले समय अनुकूलता प्राप्त गरेन अर्थात् यस विषयको जानकारी आम समुदायमा सम्प्रेषण हुन सकेन । निराशामय राप सेलाउँदै गइरहेको बेला वरिष्ठ साहित्यकार प्राज्ञ वैरागी काइँलाद्वारा लिखित 'किराती संवत्देखि येले संवत्सम्म' दस्तावेज तान्छोप्पा मासिकमा प्रकाशित भएको ठीक एक वर्षपछि अर्थात् २०६५ माघ १८ गते नवसमन्वयको विशेष पहलमा त्यही दस्तावेजलाई आधार बनाएर वरिष्ठ विद्वान्हरू वरिष्ठ इतिहासविद् प्रा.डा.जगदीशचन्द्र रेग्मी, प्रा.माणिकलाल श्रेष्ठ, समाजशास्त्री जितपाल किराती तथा वरिष्ठ साहित्यकार प्राज्ञ वैरागी काइँलाबीच एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो र त्यसमा उठेका अर्थात् विद्वान्हरूको विचारलाई प्रकाशन गरिसकेपछि मुन्धुम पब्लिकेसनको विशेष सक्रियातामा नवसमन्वय पब्लिकेसनसँग नामको एकरूपता खोज्ने कार्यको बारेमा सहमति हुँदै २०६६ साउन २६ गते चार किरात संस्थाका प्रतिनिधि तथा वरिष्ठ इतिहासविद् डक्टर जगदीशचन्द्र रेग्मीको प्रमुख आतिथ्यमा बृहत् कार्यक्रम सम्पन्न भयो जुन कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार प्राज्ञ वैरागी काइँलाले गर्नु भएको थियो । यसले किरात समुदायमा मात्र हैन गैरकिरात समुदायमा समेत निक्कै ठूलो हलचल ल्यायो र यो विषयले निक्कै नै प्राथमिकताका साथ अगाडि बढ्ने मौका हाल पाइरहेको छ ।
हाम्रो केही आग्रह:
क. साझा प्रतिबद्धता: वर्तमान परिस्थितिमा सबैको सहअस्तित्वलाई स्वीकार्दै सहकार्य र सद्भावका साथ अगाडि बढ्नु अत्यन्तै जरुरी छ । हामी -किरातीहरू) बीचमा विविध कारणले मनमुटाव र तिरस्कारको बिजारोपण भइरहेको अवस्था छ । यस्तो अवस्थाबाट माथि उठ्दै यो 'किरात येले संवत्' को मुद्दालाई हामी सबैले साझा मुद्दाको रूपमा लिन सक्नु यो यात्राको अर्को आवश्यकता हो । यदि हामीले यो विषयलाई यसरी साझा रूपमा लान सकेनौँ भने यो फेरि इतिहासको गर्भभित्र नै विलुप्त हुनेछ र हामी सधैँ मिथकीय सीमामामात्र बाँच्न बाध्य हुने छौँ । त्यसैले एक अर्काप्रति अपनत्व भाव सिर्जना गर्दै सामुहिक रूपमा अगाडि बढ्नको लागि साझा प्रतिवद्धता जनाउन हार्दिक आग्रह गर्दछौँ ।
ख. नयाँ संविधानमा किरात येले संवत्लाई सूचीकृत गराउने उपाय: किरात येले संवत्ले किरात समुदायको मन मष्तिष्कमा ठूलो राज जमाइसकेको छ । यो १५ लाखको हाराहारीमा रहेको किरात समुदायसँग प्रत्यक्ष गाँसिएको विषय भएको कारणले पनि राज्यले यसलाई स्वीकारनु पर्ने हुन्छ । किनभने १५ लाख जनसङ्ख्याको भावनालाई राज्यले सम्बोधन गर्न नसकेको खण्डमा नयाँ बन्ने संविधान अपुरो र अधुरो हुनेछ । यसका साथै किरात येले संवत्लाई सरकारी मान्यता दिने र यलम्बर हाङलाई राष्ट्रिय विभूतिको रुपामा स्थापन गर्न लगाउने अभियान चलाउनु र अभियानलाई सफल पार्नु हामी सबै समान दायित्व हो र यो दायित्व पूरा गर्नु पनि हाम्रो परम कर्तव्य हो ।संविधानमा संस्कृति शीर्षकको अनुसूची छुट्टै रहने व्यवस्था हुन्छ । यो संवत् शब्द संस्कृतिसँग जोडिएको कारण नेपालमा चलिआएका विभिन्न संवत्हरू सूचीकृत गर्ने क्रममा किरात येले संवत्लाई पनि यी अनुसूचीहरूमा राख्नुपर्दछ भनेर साझा आवाज संविधानसभाको सदनमा उठाउन लगाउनका लागि व्यक्तिगत र सामूहिक दवाब सृजना गर्न हार्दिक आग्रह गर्दछौँ ।
ग. किरात येले संवत् व्यापक प्रयोग गरौँ: जुनसुकै कामको सुरुवात आफैबाट गर्नु अत्यन्तै आकर्षक र व्यवाहारिक हुन्छ भन्ने भनाइलाई आत्मसाथ गर्दै हामी सबैजना -किरात सङ्घ-संस्था, राजनीतिक दल, बुद्धिजीवी, प्रतिष्ठित व्यक्ति-व्यक्ति, श्रमिक आदि) मिलेर आ-आफ्नो क्षेत्रमा -किरात, लिम्बुवान, खम्बुवान आदि) यसलाई (तत् तत् क्षेत्रमा) स्थापित गर्न किरात येले संवत् हाम्रो दैनिक जीवन पद्दतिको रुपमा अङ्गीकार गरी प्रयोग गर्न सामुहिक प्रतिवद्धता जाहेर गरौँ भन्ने आग्रह गदैछौँ ।
अन्त्यमा
यो महानतम यात्रा पूरा गर्न त्यति सजिलो र सहजता भने पक्कै छैन । किनभने हिजोको समयमा भएको गल्ती, कमी-कमजोरीहरूलाई सुधार्दै लैजानु र बिग्रिएका इतिहासका पन्नाहरूलाई सच्याउँदै यसलाई नयाँ आयामको रूपमा परिवर्तन गर्दै, यस बीचमा आइपर्ने अनेकौँ चुनौतीहरूको सामाना गर्नु पर्ने छर्लङ्गै छ । हामीलाई लागेको छ, यो हाम्रो यात्राको थालनीमात्र भइरहेको छ र यही नै सत्य पनि हो । भोलिको दिनमा यो यात्रा कहाँ गएर टुङ्गिन्छ, कुन-कुन मोडमा पुग्छ त्यो भविष्यको कुरा हो तर वर्तमान धरातलमा रहेर भविष्यको रेखाङ्कन सुनौलो नै कोर्ने प्रयास गर्नुपर्दछ । त्यो सुनौलो रूपलाई साकार पार्नको लागि तपार्इं हामी सबै मिलेर सचेत रूपमा अगाडि बढ्नु आजको परम् कर्तव्य हो । 'जस पाउँदा आफू, अपजस पाउँदा अरू' भन्ने उक्खानलाई चिर्दै हामी सबैको साझा समस्या हो भन्ने हेतुले यसलाई आत्मसाथ गर्नु नै महान् बुद्धिमता र यो यात्राको सफलता हो । जुन सफलताको महान् गाथामा हामी सबैजना हुनेछौं र आउने पुस्ता अर्थात् हाम्रा दरसन्तानहरूले गौरव गर्नेछन्, हाम्रो स्मरण गर्नेछन् । जहाँ हामी सबैजना यो ऐतिहासिक दस्तावेजमा अमरत्वको प्रतिविम्व बोकेर बाँचिरहने छौँ सदा-सदा ।
(यो कार्यपत्र ७ नाभेम्बर, २००९ मा 'किरात येले सम्बत' अन्तर्राष्ट्रिय विचार गोष्ठीको पूर्वसन्धयामा आयोजित 'अन्तर्त्रिया कार्यक्रम' काठमाडौंमा 'किरात येले सम्बत अध्ययन समन्वय समितिद्वारा प्रस्तुत गरिएको थियो ।)

Wednesday, November 4, 2009

संघीयतामा आर्थिक बाँडफाँड

अशोक दर्नाल
नेपाल संघीय व्यवस्थामा जाने निश्चित भएकाले संघ र प्रान्तबीच आर्थिक अधिकार बाँडफाँडका विषयमा बहस हुनु जरुरी छ । कर, त्यसको बाँडफाँड र खर्च व्यवस्थापन भनेको राजनीतिक र आर्थिक प्रयोजनका लागि महत्त्वपूर्ण सवाल हुन् । कर तथा अन्य राजस्व कसले निर्धारण गर्ने, कसले उठाउने र कसले केमा खर्च गर्ने भन्ने विषयमा अध्ययन हुनुपर्छ । विश्व समुदायले प्रमुख रूपमा ६ तरिकाले संघ र प्रान्तबीच आर्थिक अधिकार बाँडफाँड गरेको देखिन्छ । क्यानडा र स्विट्जरल्यान्डमा केन्द्र्रीय सरकारले ४५ प्रतिशत राजस्व संकलन गर्छ । अस्टि्रया, अस्ट्रेलिया, ब्राजिल, भारत र अमेरिकामा केन्द्रीय सरकारले कुल राजस्वको दुई-तिहाइदेखि तीन चौथाइसम्म संकलन गर्छन् । अर्जेन्टिना, मलेसिया, मेक्सिको, स्पेन र भेनेजुयलामा केन्द्रीय सरकारले ८० प्रतिशत राजस्व संकलन गर्छन् । केही गैरसंघीय मुलुकमा भने राजस्व संकलन कतिपय केन्द्रीकृत संघमा भन्दा विकेन्दि्रत छ । कैयौँ औद्योगिक मुलुकमा प्राकृतिक स्रोतबाट प्राप्त राजस्व नगण्य रहेको छ । केन्द्र्रको स्वामित्व रहेका क्यानडा र अस्ट्रेलिया यसका अपवाद हुन् । स्विट्जरल्यान्ड, क्यानडा र जर्मनीमा केन्द्र्रीय सरकाका तुलनामा संघहरूको खर्च ज्यादै कम छ । जर्मनीमा संघीय राज्य प्रशासन केही संघीय कार्यक्रम सञ्चालनमा जिम्मेवार रहेकाले यस्तो भएको हो । अन्य मुलुकको भन्दा स्विट्जरल्यान्ड र क्यानडाका हकमा क्षेत्रगत र प्रान्तीय जिम्मेवारीका कारण यस्तो भएको हो । अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, भारत र अमेरिकामा संघहरूको खर्च ६० प्रतिशत हाराहारीमा छ । यो मात्रा अस्टि्या र स्पेनमा करिब ७० प्रतिशत, भेनेजुयलामा ७८ प्रतिशत र मलेसिया र मेक्सिकोमा ८५ प्रतिशत छ । क्यानडा, स्विट्जरल्यान्ड र जर्मनीमा कुल सरकारी खर्चको तुलनामा एकाइ सरकारलाई दिइने निकासामा सबैभन्दा कम अन्तर छ, जसमा विकेन्द्रीकरण कार्यक्रमअन्तर्गत लाग्ने खर्चको ठूलो मात्रा पनि समावेश छ । मलेसियामा पनि धेरै केन्द्र्रीकृत कार्यक्रम हुने भएकाले एकाइलाई कम निकासा हुन्छ । अमेरिकामा पनि तुलनात्मक रूपमा कम निकासा हुन्छ । अस्ट्रेलिया, अस्टि्या र भारतका तल्लो तहमा सरदर ४०/४५ प्रतिशत जान्छ । स्पेनमा करिब ७८ प्रतिशत निकासा हुने गर्छ । यो कार्यक्रम र जिम्मेवारीका आधारमा राजस्वको अधिकारभन्दा धेरै नै बढी हो । केही संघमा गरिब एकाइलाई धेरै निकासा दिने प्रावधान छ, जसलाई समानीकरणको सिद्धान्त भनिन्छ । केही मुलुकमा वैधानिक क्षेत्राधिकार प्रयोग गरी केन्द्र्रीय सरकारद्वारा खर्च गर्ने तरिका अपनाइएको छ, विशेषतः माथि उल्लिखित चार देशमा । अमेरिकी संविधानले केन्द्रीय सरकारलाई सार्वजनिक हितका लागि कर लगाउने ठूलो अधिकार दिएको छ । क्यानडामा अदालती व्यवस्थाले दुवै तहका सरकारलाई खर्चमा असीमित अधिकार दिएको छ । स्विट्जरल्यान्डको संविधानले त्यस्तो खर्च गर्न अनुमति दिएको छैन । जर्मनीमा समान र संयुक्त क्षेत्राधिकार छ । खर्चसम्बन्धी सबै निर्णयका लागि माथिल्लो सदनमा हुने मतदानमा संघीय राज्यहरूको बहुमत हुनुपर्छ । नेपालमा संघीयताका सन्दर्भमा आर्थिक अधिकार बाँडफाँड गर्दा मुलुकको समग्र प्रान्तको समान विकास, अखण्डता, अविभाज्यतालाई आधार बनाउनु उचित हुन्छ । यहाँ काडमाडौं उपत्यकाजस्तो विकसित र कर्णालीजस्ता अति पछाडि परेका क्षेत्र पनि छन् । मधेसजस्ता शोषित क्षेत्रसँगै कालिकोटजस्ता अति विकट क्षेत्र पनि छन् । सबैको आर्थिक, राजनीतिक, सामाजिक तथा शैक्षिक अवस्था समान पनि छैन । हरेक क्षेत्रको विकास एक-अर्काप्रति अन्योन्याश्रति रहेको छ । मधेसको अन्न पहाडलाई, पहाडको ढुँगा, पानी, जडीबुटी मधेसलाई आवश्यक छ । मधेसको राजस्व पहाडको बाटोघाटोका लागि आवश्यक पर्छ भने पहाडको जलशक्ति तराईलाई नभई हुदैन । यस अवस्थामा केन्द्र सरकारको भूमिका नगण्य राख्नु उचित हुँदैन । तर, विचारणीय कुरा, केन्द्र्रलाई बढी अधिकार दिई ससर्त निकासाको प्रावधान राखियो भने संघीयता होइन, अर्ध-संघीयता लागू हुनेछ ।संघ र प्रान्तका आर्थिक अधिकारबारे संवैधानिक व्यवस्था गर्दा प्राकृतिक स्रोत-साधन बढी भएका प्रान्तबाट केही राजस्व केन्द्र्र सरकारले उठाई साधन-स्रोतले कमजोर रहेका प्रान्तको विकासमा लगाउनु उचित हुन्छ । आर्थिक रूपले सम्पन्न र अन्य प्रान्तको आयको हिसाब गरी समान औसत आय मात्र तिनमा रहन दिनुपर्छ । केन्द्र सरकारले हस्तक्षेपकारी अधिकार राख्नु हुन्न, तर सहयोगात्मक संघीयताको सिद्धान्तअनुसार केही अधिकार भने राख्नुपर्ने हुन्छ ।

Tuesday, October 20, 2009

तामाकोसी, विजयपुर, रिडी र नारायणी

भवानी बराल
"सोभियत संघका नेता लेनिनले भनेका थिए, 'दसपटक नाप एकपटक काट ।" तर, लेनिनका असली नेपाली चेलाहरू ननापी काट्दा रहेछन् । त्यसैले जतिपल्ट काटे पनि तिनले राज्य पुनर्संरचनाको भोटो मिलाउन सकेका होइनन् । राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिमा एमाओवादीले तामाकोसी, विजयपुर, रिडी र नारायणी नामका केन्द्र शासित प्रदेशको खाका प्रस्तुत गरेपछि जातीय आधारमा राज्यको रचना चाहनेले पहिलो गाँसमा ढुङ्गा परेको महसुस गर्न थालेका छन् । तामाकोसी, नारायणी र रिडीको प्रस्तावको उस्तो विरोध सुनिएको छैन । तर, लिम्बूजन्य संगठनले दाबी गर्दै आएको र लिम्बुवानको ऐतिहासिक तहसिल राजधानी रहेको विजयपुरलाई केन्द्र शासित प्रशासनिक इकाई बनाउने यो प्रस्तावले लिम्बूजन्य संगठन र किराँत याक्थुङ चुम्लुङमा खैलाबैला मच्चिएको छ । स्वयम् माओवादी समर्थित लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका दुई दर्जन नेता तथा कार्यकर्ताले माओवादीलाई 'अल्टिमेटम' दिँदै वक्तव्यबाजीसमेत गरिसकेका छन । माओवादीले भने यो प्रस्ताव मात्रै भएको भनेर लिम्बूजन्य कार्यकर्तालाई थुम्थुम्याइरहेको छ ।
माओवादीले यस्ता भौगोलिक क्षेत्रहरू गठन गर्नुपर्ने आधार जनसंख्यालाई दिएको छ । समितिमा पठाएको प्रस्तावमा माओवादीले लेखेको छ, 'उत्पीडित जनजातिको तुलनामा अन्य जातिहरू निरपेक्ष बहुसंख्यक भइसकेको क्षेत्रहरू केन्द्र शासित भौगोलिक प्रशासनिक क्षेत्र वा इलाकाहरू गठन गर्न सकिनेछ ।' यही दलिलका आधारमा माओवादीले रूपमा चारवटा केन्द्र शासित भौगोलिक प्रदेश रचना गर्ने प्रस्ताव गरेको हो । तर सारमा भने माओवादीभित्र देखिएको पूर्वजनमोर्चाका एकात्मक पक्षधर शक्तिले स्थापित गरेको यो मत हो । यहाँ विजयपुर प्रदेशको बारेमा बढी चर्चा गरिनेछ ।
केन्द्र शासित प्रदेसको सीमाङ्कन
विजयपुरः माओवादीले प्रस्ताव गरेको विजयपुरको सीमाङ्कन -चीत्रमा संकेत गरेबमोजिम) मोरङको लोहान्द्रा खोला पश्चिम, पूर्व-पश्चिम राजमार्गलाई ठाउँ-ठाउँमा छुँदै चारकोसे झाडी -फारलाइन) उत्तर, धनकुटा जिल्लाको सिमाना महाभारत पर्वत शृङ्खला दक्षिण, सप्तकोसी पूर्व सुनसरी र मोरङ जिल्लाका राजमार्ग उत्तरका केही गाविस र सुनसरीको धरान र इटहरी नगरपालिकाको भूभागलाई लिएको देखिन्छ ।
तामाकोसी : रोल्बालिङ हिमाली क्षेत्रलाई शेर्पा प्रदेशमा छुट्याएर त्यसदेखि दक्षिण दोलखा जिल्ला भएर बग्ने तामाकोसी आसपासका दोलखा जिल्लाका भूभाग र केही रामेछाप जिल्लाका क्षेत्र, सुनकोसी दोभानसम्मको भूभागलाई तामाकोसी प्रदेशको लगभग प्रस्ताव गरिएको छ ।
नारायणी : चितवन जिल्लाको पहाडी तथा मैदानी भूभाग र नवलपरासीका नारायणी नदी आसपासका क्षेत्र, प्रस्तावित मधेस प्रदेश उत्तरको दून क्षेत्र नारायणी केन्द्र शासित प्रदेशको प्रस्ताव गरेको देखिन्छ ।
रिडी : यो पाल्पा र गुल्मी जिल्लाको बीचमा कालीगण्डकीको किनारमा रहेको, माघे सक्रान्तीमा तीन दिनसम्म मेला लाग्ने, प्रसिद्ध धार्मिक एवं प्राकृतिक स्थल, रुरुक्षेत्र हो । यो प्रदेशमा गुल्मी र अर्घाखाँची जिल्लाका केही भूभाग, मिलाएको देखिन्छ । यो प्रदेशको दक्षिणमा चुरे पहाड पर्छ । प्रस्तावित तमुवान र मगराँतले रिडी प्रदेशलाई चारैतिरबाट घेरेको छ । यो अन्य तीन प्रदेशभन्दा ठूलो देखाइएको छ ।
के हो केन्द्र शासित प्रदेश ?
जारशाहीको पतनपछि साम्यवादी बोल्सेविकहरूले रुसलाई सङ्घीय ढाँचामा लैजान पहिले भूगोललाई आधार माने । तर पछि भूगोललाई पुनर्विचार गरे र सामाजिक बनोटको आधारमा सङ्घीय संरचना निर्माण भयो । त्यसबखत रुसमा १०९ किसिमका ठूला राष्ट्रियता र ११ किसिमका साना राष्ट्रियता रहेको ठहर रुसी साम्यवादीहरूले गरे । तिनै राष्ट्रियतालाई सम्बोधन गर्न १५ वटा सङ्घीय गणराज्य, २० वटा स्वायत्त गणराज्य, ८ वटा स्वायत्त प्रदेश र ९ वटा सोभियत स्वशासित प्रदेश बनाए ।
माओवादीले यहाँ सोभियत स्वशासित प्रदेशको नक्कल उतार गर्न खोज्दा यस्ता प्रदेशहरूको प्रस्ताव गर्न पुगेको हुनसक्छ । उसले के हेक्का राखेन भने रुसमा ९ वटा सोभियत स्वशासित प्रदेश बनाइयो तर नेपालका माओवादीहरूले ४ वटा 'केन्द्र शासित' प्रदेशको प्रस्ताव गरे । बोल्सेबिकहरूले एकदमै साना राष्ट्रियतालाई सम्बोधन गर्न 'सोभियत स्वशासित प्रदेश' को नमुना प्रस्तुत गरेका थिए, केन्द्र शासित प्रदेशको होइन । माओवादीले प्रस्ताव गरेको नमुनाले भने भूगोललाई मात्र प्रतिनिधित्व गर्छ । यी नाम गरेका प्रदेशहरू कसैले मागेका पनि होइनन् । माओवादीले आफ्नै खल्तीबाट निकालेको हो ।
केन्द्र शासित प्रदेश एकात्मककै अर्को रूप हो । यस्ता प्रदेशमा सङ्घीयताका विशेषता हुन्न । सङ्घीयताको अन्तरवस्तु स्वशासन हो । सङ्घीयताबाट स्वशासन झिकिदिने हो भने एकात्मक भइहाल्छ । विजयपुर, तामाकोसी, नारायणी र रिडीलाई केन्द्रीय सत्ताले सञ्चालन गर्ने हो भने त्यो कसरी सङ्घीय प्रदेश हुन्छ ? केन्द्र शासित प्रदेशमा स्वशासन हुँदैन । यसैले केन्द्र शासित प्रदेश सङ्घीयताविपरीतको मान्यता हो । यो भारतीय नमुना हो । भारतीय संरचना पूर्णतया सङ्घीय नमुना होइन । भारतीय संविधानले सङ्घीयता नभनेर 'युनियन अफ स्टेट' भएको दाबी गरेको छ । भारतीय संविधानका निर्माता डा. अम्बेडकरले सार र भावनाले भारत संघ होइन, यसको मूल स्पिरिट एकात्मकनै हो भनेका थिए । यसर्थ भारतमा केन्द्र शासित प्रदेश छ । चीनमा एकात्मक व्यवस्था भएपनि केन्द्र शासित प्रदेश छैन । स्वायत्त क्षेत्र, पि्रफेक्चर, स्वायत्त इलाका र जातीय उपनगर छ । चीनले एकात्मकभित्र नै स्वशासनको व्यवस्था गरेको छ ।
विजयपुरको दोहालो
लिम्बू इतिहासकार इमानसिंह चेम्जोङद्वारा लिखित पुस्तक 'किराँतकालीन विजयपुरको संक्षिप्त इतिहास' का अनुसार गोर्खा राज्यको विस्तारको समयमा लिम्बुवानको प्रमुख केन्द्र विजयपुर तहसिल राजधानी थियो । गोर्खाका राजा पृथ्वीनारायण शाहले लिम्बू राजाहरूसँग 'नुन पानी' को सन्धि गरेर स्थानीय चलनचल्तीमा रहेको स्वायत्तताको अधिकार उपयोग गर्ने गरी लिम्बुवानलाई नेपालमा मिलाए । विजयपुर लिम्बुवानको ऐतिहासिक 'मक्कामदिना' हो । सबै इतिहासकारले विजयपुरलाई लिम्बुवानको अभिन्न अङ्ग मानेका छन् । यसलाई लिम्बुवानबाट अलग गरेर हेर्नु न्यायसंगत हुन्न । यसले जातीय द्वन्द्वलाई मलजल गर्छ । तर माओवादीजस्तो अग्रगमन पक्षधर पार्टीले फेरि पनि लिम्बुवानलाई गिजोल्ने काम गरेको छ ।
माओवादीले विसं २०५६ पुस २० गते आधिकारिक रूपमा लिम्बुवानलाई स्वीकार गर्‍यो । ०५८ असोजमा लिम्बुवानलाई खारेज गर्दै १९ माघ २०६० मा पूर्वाञ्चलका पहाडी भूभागलाई किराँत प्रदेशको घोषणा गर्‍यो । ०६३ को पाँचौं विस्तारित बैठकपछि लिम्बुवानको मागलाई स्वीकार गर्‍यो । मेची अञ्चलको पहाडी जिल्ला र कोसीको तेह्रथुम र धनकुटा जिल्लामा लिम्बुवानलाई खुम्च्याएर प्रस्ताव गर्‍यो । तर, लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरसहित सुनसरी, मोरङ र झापा जिल्लालाई कोचिला प्रदेशको प्रस्ताव गर्‍यो । राज्य पुनर्संरचनामा यो प्रस्ताव दर्ता गर्नु केही समयअगाडि एमाओवादीले चारवटा भौगोलिक क्षेत्रहरू मिश्रति बसोबासको तर्क पेस गर्दै चितवन नवलपुर क्षेत्र, रिडी क्षेत्र, सुनकोसी क्षेत्र र सुनसरी, मोरङ र झापाको उत्तरी भेगलाई कन्काई क्षेत्र प्रस्ताव गरेको थियो । यो प्रस्तावमा कोचिलालाई राज्यबाट खारेज गरी स्वायत्त क्षेत्रमा झारेको
थियो । यही कन्काई क्षेत्रलाई खुम्च्याएर यतिखेर केन्द्र शासित विजयपुर प्रदेशको प्रस्ताव गरिएको छ ।
ननाप्ने काटिरहने
सोभियत संघका नेता लेनिनले भनेका थिए, 'दसपटक नाप एकपटक काट ।' तर, लेनिनका असली नेपाली चेलाहरू ननापी काट्दा रहेछन् । त्यसैले जतिपल्ट काटे पनि तिनले राज्य पुनर्संरचनाको भोटो मिलाउन सकेका होइनन् । विसं २०६० सालमा ९ प्रदेश -किराँत, मधेस, मगराँत, तमुवान, ताम्बासालिङ, थारुवान, भेरी (कर्णाली, सेती-महाकाली र नेवाः) को घोषणा गरे । संविधानसभा निर्वाचनमा ०६४ मा आइपुग्दा ११ राज्य र ३ उपराज्य -क्षेत्रीय आधारमा सेती-महाकाली र भेरी कर्णाली, जातीय आधारमा मगरात, थारुवान, तमुवान, नेवाः, ताम्सालिङ, किराँत, लिम्बुवान, कोचिला र मधेस भाषिक आधारका उपराज्य मिथिला, भोजपुरा र अबध) को प्रस्तावअगाडि ल्याए । यसपछि माओवादीले पुनः १० राज्य -सेती-महाकाली -खप्तड क्षेत्र), भेरी- कर्णाली(कर्णाली क्षेत्र), थारुवान, मधेस -मिथिला, भोजपुरा र अबधसमेत पूर्वमा सुनसरी र मोरङको दक्षिण भागदेखि पश्चिम कपिलवस्तुसम्म), मगराँत, तमुवान, तामसालिङ, नेवाः, किराँत र लिम्बुवान) प्रस्तावित गरे । यो प्रस्तावमा १३ वटा स्वायत्त क्षेत्र, ४ वटा भौगोलिक क्षेत्र
(चितवन-नवलपुर, रिडी, सुनकोसी र कन्काई) छन् । यो प्रस्तावमा कोचिला प्रदेशबाट झारेर स्वायत्त क्षेत्रमा सीमित छ ।
राज्यको पुनसरचना तथा राज्य शक्तिको बाँडफाँड समितिमा बुझाएको प्रस्तावमा सेती-महाकाली, भेरी-कर्णाली (कर्णाली क्षेत्र), थारुवान, मधेस, मगराँत, तमुवान, तामसालिङ, नेवा, किराँत, लिम्बुवान, कोचिला, शेर्पा, र भोटेलामा सहित १३ स्वायत्त प्रदेश र विजयपुर, तामाकोसी, नारायणी र रिडी ४ वटा केन्द्र शासित भौगोलिक प्रदेशको खाका बुझाएको छ । उसले केन्द्र, प्रदेश र स्थानीय तीन चक्के सङ्घीयताको परिकल्पना गरेको छ । केन्द्र शासित प्रदेशहरू गठन गर्नुपर्ने मुख्य कारण उत्पीडित जातिभन्दा अन्य जाति निरपेक्ष बहुसंख्या (६६ प्रतिशत) देखिएको दाबी गरिएको छ ।
रहलपहल
केन्द्र शासित प्रदेश सारमा एकात्मककै रूप हो । यसले स्थानीय प्रदेशहरूसरूग झमेला पनि निम्त्याउँछ । यसै पनि हाम्रो मुलुक बाह्य 'लेन्डलक' छँदैछ, आन्तरिक रूपमा छिमेकी राज्यबाट 'लक' हुन्छ । माओवादीले प्रस्ताव गरेको केन्द्र शासित प्रदेशको खाकाले सङ्घीयता विरोधी जोरीपारीलाई हासाएको छ र 'वर्णशङ्कर' भूगोलको आधारमा सङ्घीयता दिएर अल्मल्याउने दलहरूलाई हौसाएको छ । लिम्बुवानलाई पुनस्र्थापित गर्न नदिन गोपाल किराँती मार्काका माओवादी नेताले पूरै पार्टीलाई प्रभावित गरेकाले यस्तो प्रस्ताव आएको हो । अब नेपाली सङ्घीयताको सीमाङ्कनको तेर्सा पहाडी झगडा सुरु हुन्छ, जसको अन्त्य छैन । यसअघि उत्तर-दक्षिणको झगडा मात्र थियो । विजयपुरको प्रस्ताव त्यही झगडाको बीउ हो । यो प्रदेशको प्राकिृतिक तथा अन्य स्रोत, सामथ्र्य पनि छैन । ऐतिहासिक आधारबाट जातीय -राष्ट्रिय) राज्यको सीमा निर्धारण गरिएन भने यो निरन्तर झगडाको गुण हुनेछ । तर माओवादीले यति कुरा पनि नबुझ्नु सारै अनौठो छ । जेठा मामाको यो गति छ भने कान्छा मामाहरूको भाङ्ग्राको धोती हुने नै भयो । अन्ततः माओवादीले लिम्बू-नेपाली उखान, 'सरमधरम होप, बदनाम चोगु' (लाजसरम पचाएपछि बदनामीको के डर) लाई चरितार्थ गर्ने हो कि वैज्ञानिक संरचना निर्धारण गर्ने हो भकुन्डो उसकै मैदानमा छ ।
कान्तिपुरबाट साभार

जातीय एकताका पक्षधर देवकोटा

शिवप्रसाद भट्टराई
लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) लाई नेपाली साहित्य जगत्कै एउटा विराट् प्रतिभाका रूपमा सबैले स्वीकार गर्दै आएका छन् । उनको जीवनको ध्येय नै साहित्य-सिर्जना थियो । उनी यसै क्षेत्रमा अथकरूपमा लागिपरे । यसकै माध्यमबाट विश्व प्रसिद्ध बने । हिन्दी साहित्यका पन्त, प्रसाद, निरालाको समष्टि व्यक्तित्वका रूपमा पनि उनी चिनिन पुगे । उर्दु साहित्यका महाकवि गालिबसँग दाँजिन पुगे । गीत, बालसाहित्य, नाटक, कथा, उपन्यास, निबन्ध, खण्डकाव्य, महाकाव्य आदिका माध्यमबाट आफूभित्र अन्तर्निहित विशिष्ट एवं अद्वितीय साहित्यिक प्रतिभाको परिचय दिए । नेपाली साहित्यको क्षेत्रमा 'महाकवि' का रूपमा विश्व प्रख्यात बन्न पुगे ।
यसरी उनी साहित्यसेवामा किन र कसको लागि समर्पित भए ? यो कार्य उनले आफ्नो स्वार्थपूर्तिका लागि गरे वा आफ्नी धर्मपत्नीको सुखको कामना गर्दै गरे ? अथवा यसभन्दा पनि भिन्न रहेर आफ्ना छोराछोरीको शिक्षादीक्षा र उचित भरणपोषणको चाहनाले गरे ? यसरी साहित्य सेवामा निरन्तर समर्पित हुँदा उनले आफ्नो जीवनमा के पाए ? राष्ट्रले उनलाई के
दियो ? आदि इत्यादि विविध प्रश्नमा गहिरिएर विचार गर्ने हो भने उनले जीवनमा केही पाएनन् । तर पनि उनले आफ्नो जीवनलाई आजीवन साहित्यसेवामा नै किन समर्पित गरे भनेर सोच्ने हो भने समाज र राष्ट्रलाई जाग्रत र चेतनशील तुल्याउन नै उनी यस क्षेत्रमा समर्पित भए भन्न सकिन्छ । यस क्रममा उनको स्रष्टा व्यक्तित्वले स्वस्वार्थ र पारिवारिक स्वार्थलाई कुनै महìव दिएन । साहित्य सिर्जनाका माध्यमबाट आफूभित्र अन्तर्निहित सहनशील मानवशक्तिको उनले सही परिचय दिए । यसरी साहित्य सिर्जनामा समर्पित भएर लागिपर्दा समय-समयमा उनले विविध किसिमका विघ्नबाधाहरूको सामना गर्नुपर्‍यो । यस किसिमको स्थितिका बीच पनि साहित्यमा स्वतन्त्र चिन्तनका माध्यमबाट नयाँ-नयाँ दृष्टिकोण र परिवर्तन ल्याउने कार्यमा उनले महत्त्वपूर्ण योगदान दिन सके ।
उनका साहित्य-सिर्जनाहरूमा देशप्रेमसम्बन्धी भावना, द्वन्द्वात्मक अवस्थाको अन्त्यको चाहना, मानवप्रतिको आस्था र विश्वास, सेवाभावमा आधारित मानवतावादी चिन्तन, जातीय एकताप्रतिको जोड, सबैलाई जातिवाद र क्षेत्रवादबाट अलग रही यसबाट माथि उठ्नुपर्ने आवश्यकतामा महनीय प्रकाश पारिएको पाइन्छ । विषमतायुक्त एवं रुढीग्रस्त सोच र संस्कारलाई समाजबाट हटाई विषमतारहित वा विषमताहीन समाजवादको कल्पनालाई सहजरूपमा सम्भव र सार्थकसमेत तुल्याउन सम्पूर्ण नेपाली
परस्परमा हातेमालो गर्दै ऐक्यबद्धरूपमा अघि बढ्न सक्नुपर्ने आवश्यकतामा पारिएको प्रकाशमा सबै नेपालीमा परस्परको प्रेम, विश्वास र सहयोगले नै हाम्रो देश नेपाल विश्वमा एउटा प्रेरक र उदाहरणीय देशका रूपमा सुपरिचित हुनसक्ने यथार्थमा पनि उनले विशेष प्रकाश पारेका छन् ।
समाजमा देखिएका असमानता र विषमता हटाउन नसकिएसम्म र समाजका विभिन्न वर्ग र समूहमा व्याप्त अन्तर्विरोधको अन्त्य नभएसम्म सामाजिक विश्वास र सद्भावको गतिले सही गन्तव्य प्राप्त गर्न सक्दैन । यसका लागि सर्वप्रथम सबैले आफूलाई जातिवादबाट माथि उठाउनु आवश्यक हुन्छ । नेपालका प्रत्येक जातजाति वा जनजातिका बीच सुगम वा दुर्गमपथमा एकअर्काको परिपूरक बनेर अघि बढ्ने सोच र संस्कारमा नै राष्ट्र र जनताको सही विकास अन्तर्निहित रहेको हुन्छ भन्ने यथार्थमा पनि उनका साहित्य-सिर्जनाहरूले गहन प्रकाश पारेका छन् ।
चाहे 'मुना-मदन' खण्डकाव्यमा मदन र भोटेबीच गाँसिनपुगेको आत्मीय प्रेम र स्नेह होस् वा चाहे 'म्हेन्दु', 'लुनी', 'कुञ्जिनी' आदि खण्डकाव्यमा अभिव्यक्त भएका यस किसिमका कतिपय प्रसङ्गमा गरिबहरूकै जीवनपद्धतिको करुणगाथा पाइन्छ । यी सबैमा जाति, धर्म र क्षेत्रवाद एवं विविध किसिमका शोषण आदि विकृति र विसङ्गतिबाट मुक्तिका साथै मानिसको स्वतन्त्र र सार्थक जीवनपक्षको चाहना नै अभिव्यक्त हुनपुगेको छ । स्वतन्त्रता नै मानिसको सर्वपि्रय आधार हो र यो आधारको प्राप्तिबाट नै ऊ देश र जनताको सेवामा निरन्तर समर्पित हुनसक्छ भन्ने तथ्यको उद्बोधन उनका कतिपय कृतिले गरेका छन् । 'म्हेन्द्र' खण्डकाव्यमा उल्लेख भएको 'सारा घर मेरो, सारा देश भाषा, तारामण्डल छ छानो एक खासा' होस् वा धोती र टोपीको विवाद चुलिँदै गएमा सबै नाङ्गिन पुग्ने यथार्थमा प्रकाश पार्दै आफ्नो 'वैराग्य' शीर्षकको निबन्धमा 'अभिव्यक्त' को चाहन्छ मेरो टोपी, को मेरो धोती, 'म नङ्गा बन्न चाहन्छु' भन्ने व्यङ्ग्यात्मक अभिव्यक्ति आदिमा नै किन नहोस्, यसभित्र राष्ट्र र राष्ट्रियताप्रतिको अत्यन्त गहन किसिमको चैतन्यबोध उजागर हुनपुगेको पाइन्छ । त्यस्तै जातीय एकताको बखान गर्दै 'मुना-मदन' शीर्षकको खण्डकाव्यमा अभिव्यक्त 'पृथिवीभरमा क्वै जाति भए नेपाली के कम छ ?' भन्दै नेपालमा बस्ने सम्पूर्ण नेपालीलाई तपस्वी स्वभावका यशस्वी व्यक्तित्वका रूपमा चित्रित गरेर महाकवि देवकोटाले विविध जातजाति र जनजातिको एकताबाट नै विश्वमा नेपाल र नेपालीको तेज बढ्ने यथार्थमा पनि महत्त्वपूर्ण प्रकाश पार्नसकेको पाइन्छ । एक जातिले अर्को जातिप्रति अन्तहृदयदेखि नै अभिव्यक्त गर्ने उदार, सुशील, सौम्य र विशाल हृदययुक्त स्नेह र प्रेममा आधारित व्यवहारबाट नै राष्ट्रिय एकता समृद्ध बन्न पुग्छ । यस किसिमको समृद्धशाली एकताबाट नै देशमा उत्पन्न कुनै पनि किसिमका समस्याको सहजरूपमा समाधान पहिल्याउन सकिन्छ । यस विपरीत हामी नेपालीबाट केवल मधेसी, पहाडी, हिमाली, किराँती, राई, लिम्बू आदिमा मात्र सीमित हुनपुग्यौं र यस क्रममा अझ अगाडि बढेर जातिजातिका बीच जातिवाद र क्षेत्रवादलाई उचालेर साम्प्रदायिक भावना भड्काउँदै गयौँ भने त्यसबाट हाम्रो राष्ट्रिय एकताको खँदिलो जगलाई खोक्रो बनाउन पुग्ने निर्विवाद छ । यसो हुनपुगेमा देशी-विदेशी विविध शक्तिहरूले आˆनो स्वार्थपूर्तिका लागि आफूलाई अझ क्रियाशील बनाउन सक्ने प्रशस्त सम्भावना पनि रहन्छ । यसो हुन नदिन नेपालमा बस्ने सबै नेपालीले जातिवादबाट माथि उठेर परस्परमा एक जातिले अर्को जातिप्रतिको प्रेम र विश्वासको सम्बन्धलाई खँदिलो बनाई राष्ट्रनिर्माणको अभियानमा आफूलाई ऐक्यबद्धरूपमा अघि बढाउनु आज राष्ट्रिय आवश्यकताको विषय बन्न पुगेको छ ।
उपर्युक्त यथार्थलाई मनन गरी हामीले देश, समाज र आˆनो विकासका लागि पनि सर्वप्रथम आˆनो स्वार्थभन्दा देशको स्वार्थलाई नै बढी महìव प्रदान गर्नुपर्छ । यदि देशलाई बिर्सिएर आˆनो स्वार्थपूर्तिमा मात्र हामीले आˆनो दृष्टि केन्दि्रत गर्न पुग्यौँ भने त्यसले अन्त्यमा कुनै पनि जातिको हितको रक्षा गर्न नसकी नेपाली हुनुको साहस, सामथ्र्य, गौरव, गरिमा र इमानलाई समेत विशृङ्खलित तुल्याउँदै क्रमिकरूपमा हामी सबैलाई परमुखापेसी बनाएर परचक्रीका सामु हात फैलाउनुपर्ने किसिमको स्थिति सिर्जना गर्नसक्ने सम्भावनाका प्रति पनि समय छँदै हामी सचेत हुन सक्नुपर्ने आवश्यकता पनि छ । त्यसैले पनि हामी सबै जातजाति र जनजातिले 'मेरो स्वदेश नै मेरो विश्व हो, विपना हो, मेरो सत्य हो, एउटा खँदिलो अस्तित्व हो' भन्ने देवकोटाको उक्तिलाई आत्मसात् गर्नुपर्छ र नेपालमा बस्ने प्रत्येक जातिले नेपाली हुनुको गौरव र गरिमालाई पनि आत्मसात् गरी जातीय एकताको माध्यमबाट सुन्दर, शान्त र समुन्नत नेपालको नवनिर्माण गर्न अग्रसर हुनुपर्छ । यसमा नै विविध कार्यक्रमसहित महाकवि लक्ष्मीप्रसाद देवकोटाको शताब्दी समारोह मनाइनुको सार्थकता पनि पाउन सकिन्छ ।
आˆनी आमा अमरराज्यलक्ष्मी देवीको निधन भएको एक वर्ष पनि बित्दा-नबित्दै आˆना पिता तिलमाधव देवकोटाले पनि आˆनो इहलोक त्याग गर्नपुग्नु एवं यही वर्ष नै जन्मिएकी आˆनी छोरीले पनि दुई महिनाको वयसन्धि पनि पार गर्दा नगर्दै शरीर त्याग गर्नु, पुस्तकालय खोलेर जनतालाई चेतनशील तुल्याउने कार्यमा अग्रसर हुँदा राणा शासनबाट दण्डित हुनु, राणाकालीन समयमा देशमा बस्न नै असहज भएका कारण वि.सं. २००४ मा भारत पुगी त्यहाँ दुःखद जीवन व्यतीत गर्न बाध्य र विवश हुनु, क्यान्सर रोगको प्रलयकारी पीडाले पीडित हुनुपरेको अवस्थामा पनि देश र समाजका लागि सारगर्भित साहित्यिक कृतिहरूको सिर्जनाबाट उनले दिनसकेको योगदान निश्चय पनि अभूतपूर्व, अद्वितीय र बिर्सिनसक्नुको छ । यस यथार्थको कसीमा आज हाम्रो देशमा देखापरेका विभिन्न किसिमका वैचारिक विरोधाभासबाट उत्पन्न समस्यालाई सबैले परस्परमा तालमेल कायम गरी समाधान गर्न अग्रसर हुनु नै महाकवि देवकोटाप्रतिको सच्चा श्रद्धाञ्जलि हुनुको साथै यो सबैको जिम्मेवारी, दायिìवबोध र कर्तव्यको विषय पनि बन्न पुगेको छ ।

Monday, October 12, 2009

ओबामालाई नोबेल 'युद्ध' पुरस्कार

विनोदविक्रम केसी
नोबेल समितिले यस वर्षको नोबेल शान्ति पुरस्कार बाराक ओबामालाई दिने घोषणा गरेपछि सारा विश्व चकित भयो । यो खबर सुन्नेबित्तिकै संसारभरिका मानिस विश्व-शान्तिका क्षेत्रमा बाराक ओबामाले के-के गरेछन्, खोजिनिती गर्न थाले ।
धेरैको प्रश्न यौटै थियो— कुनै पनि क्षेत्रमा कुनै उल्लेखनीय उपलब्धिविनै राष्ट्रपतिका रूपमा १० महिनाभन्दा कम समय बिताएका ओबामा कसरी नोबेल पुरस्कारका लागि छनोट भए ? सत्य के हो भने ओबामाले राष्ट्रपति कार्यालयमा बसेर जे गरेका छन्, त्यसको शान्तिसित गोरु बचेको साइनो पनि छैन ।
नोबेल पुरस्कारको घोषणापछि ओबामा ह्वाइट ह्वाउसको रोजगार्डेनमा झुल्किए र आफू 'चकित र कृतकृत्य' भएको घोषणा गरे । त्यसपछि, युद्धपरिषद्का सदस्यहरूसित अफगानिस्तानमा थप फौज पठाउने, त्यहाँ र पाकिस्तानी सीमाक्षेत्रमा धुवाँदार बमबारी गर्ने विषयमा छलफल गर्न उनी तुरुन्तै ह्वाइट हाउसभित्र छिरिहाले ।
यता, नोबेल समिति उनको 'परमाणुअस्त्रमुक्त दुनियाँको सपना'को प्रशंसा गर्दै थियो । उता, उनको प्रतिक्रिया थियो, 'यो सपना मेरो जुनीमा पूरा नहुन सक्छ ।' किनभने, उनको प्रशासनले मस्कोसँगको वार्तामा अमेरिकाले कम्तीमा १५ सय पारमाणविक क्षेप्यास्त्र राख्न पाउने अधिकारको माग गरेको छ । आफू के बोलिरहेका छन्, राम्रोसँग जान्दछन् उनी ।
ओबामालाई कुनै शान्ति पुरस्कार प्रदान गर्नु आफैँमा हास्यास्पद कुरा हो । कुनै सेनापति, जो कैयौँ युद्ध अपराध (जस्तो कि गत मे महिनामा सयौँ निर्दाष अफगानी जनताको ज्यान जानेगरी गरिएको बमबारी) का लागि जिम्मेवार छ, कसरी शान्तिवाहक हुनसक्छ ?
उसो त, नोबेल शान्ति पुरस्कार सदा विवादास्पद रहिआएको छ । सन् १९७३ मा हेनरी किसिन्जरलाई पुरस्कृत गर्ने निर्णय गरेदेखि गिरेको यसको साख अहिलेसम्म बढ्न सकेको छैन । हेनरी किसिन्जर युद्धअपराधीका आरोपमा गिरफ्तार भइने डरले हाल अमेरिकाबाहिर जान सकिरहेका छैनन् । उनीसँगै नोबेल पुरस्कार प्राप्त गरेका भियतनामी नेता ले दुक थोले भने अमेरिकासँगको सन्धिले आफ्नो देशमा शान्ति ल्याउन नसकेको भन्दै पुरस्कार अस्वीकार गरेका थिए । त्यस्तै, सन् २००२ मा जिम्मी कार्टरलाई पुरस्कृत गरियो, जो अफगानिस्तनमा युद्धको सूत्रपात गर्ने मान्छे थिए । यस युद्धमा लाखौँ मानिसको ज्यान गएको थियो ।
वास्तवमा नोबेल समितिलाई आफ्ना सिद्धान्तहरू उल्लंघन गरेको आरोप लगाउने ठाउँ छैन किनभने यसका सिद्धान्त छन् नै त्यस्ता । नोबेल पुरस्कारका संस्थापक अलफ्रेड नोबेल डाइनामाइटका आविष्कारक थिए । म्यासिभ अड्र्यान्स पिनिट्रेटर -भूमिगत आक्रमणमा प्रयोग गरिने तीस हजार पाउन्ड वजन भएको बम को उत्पादन गर्न हतारिरहेको पेन्टागनप्रति सायद अल्पmेड नोबेलले कुनै आपत्ति जनाउँदैनथे । यो हतियार इरानविरुद्ध सम्भावित प्रयोगका लागि तयार गरिँदै छ ।
ओबामाको 'दृष्टिकोण' का लागि र 'विश्वको ध्यान आकृष्ट गर्दै मानिसलाई सुन्दर भविष्यको आशा बाँडेेका' कारण नोबेल शान्ति पुरस्कार दिइएको भने पनि नोबेल समितिले ओबामालाई उनको चुनावी अभियानताकाका भ्रामक भाषण र वाक्पटुतामा आधारित भएर पुरस्कार दिएको होइन । नोबेल शान्ति पुरस्कार केही निश्चित नीतिहरू प्रवर्द्धन गर्ने उद्देश्यका साथ दिइन्छ, दिइँदै आएको छ ।
नोबेल शान्ति पुरस्कार छनोट समितिमा नर्वेली संसद्का प्रमुख पार्टी (उग्र दक्षिणपन्थीदेखि प्रजातान्त्रिक समाजवादीसम्म) का पाँच सदस्य थिए । यस समितिको निर्णय समग्रमा युरोपेली एलिटको प्रतिविम्ब हो । समितिका अध्यक्ष, पूर्वनर्वेली प्रधानमन्त्री थर्बजर्न जगल्यान्डले शुक्रबार न्युयोर्क टाइम्सलाई ओबामाको बचाउ गर्दै भनेका थिए, 'समितिले संघर्षशील र आदर्शवादी मानिसको पहिचान गर्नु जरुरी छ, तर प्रत्येक वर्ष हामी त्यसो गर्न सक्दैनौँ । बेलाबेलामा हामीले राजनीतिको यथार्थ-संसारमा प्रवेश गर्नैपर्छ ।'
यथार्थ-राजनीतिले निःसन्देह २००२ मा जिम्मी कार्टर र २००७ मा अल गोरको छनोटमा अहम् भूमिका खेल्यो । कार्टरलाई इराकयुद्धको पूर्वसन्ध्यामा पुरस्कारका लागि छनोट गर्नु बुस प्रशासनको आक्रामक एकपक्षीयताको निन्दा थियो । त्यस्तै, सन् २००० मा राष्ट्रपति उम्मेदवार रहेका अल गोरलाई नोबेल पुरस्कारका लागि छनोट गर्नुको अर्थ थियो— युरोप बुस प्रशासनको समाप्ति चाहन्थ्यो । ती वर्षमा नोबेल पुरस्कारलाई अमेरिकी विदेशनीतिको आलोचनाको संकेतका रूपमा प्रयोग गरियो भने यस वर्ष यसले अमेरिकी विदेशनीतिको समर्थनको प्रतिनिधित्व गरेको छ ।
अफगानिस्तानमा थप अमेरिकी फौज तैनाथ गर्ने तयारी गरिरहेका ओबामालाई नोबेल शान्ति पुरस्कार दिइनु स्पष्टतः विरोधाभाषपूर्ण छ । पुरस्कारको लक्ष्य अफगानिस्तान, पाकिस्तान र इराकमाथि वासिङ्टनको आक्रमणलाई वैधता प्रदान गर्नु र यसलाई शान्तिका लागि युद्धका रूपमा युरोपको स्वीकृतिको टाँचा लगाउनु हो । युरोपका सरकारहरूले अमेरिकी हस्तक्षेपको समर्थन गर्नु मध्यएसिया र पर्सियन खाडीका सञ्चित ऊर्जाको लुटमा आफू पनि संलग्न हुने अवसरको ढोका खोल्नु हो भन्ने राम्ररी बुझेका छन् ।
ओबामालाई दिइएको नोबेल शान्ति पुरस्कारले संसारको विशालतम सैन्य शक्ति शान्ति उन्मुख भइरहेको संकेत कुनै पनि हालतमा गर्दैन । यसले त सैन्यवाद र अन्तर्राष्ट्रिय द्वन्द्वहरू झन्-झन् व्यापक हुने खतराको संकेत गर्छ ।
(बिल भान अकेन
www.wsws.org का स्तम्भकार हुन् । उनी २००४ मा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा खडा भएका थिए ।)

Saturday, October 10, 2009

चुनवानमा दशैँको कविता र तिहारको फूल

देश सुब्बा
यही अक्टोबर ४ तारिख आइतबार कोजाग्रत पूणिर्माको साँझ सधैँ चुनवानको म्याकडोनाल्डमा अशोक राई, डि.बी. पालुङ्वा, अरुण राई, दीपा एवाई राई र म देश सुब्बा ८ बजे भेला भयौँ र कविता बोल्यौँ, कविता सुन्यौ । त्यहाँ कविताको डबली जम्यो । ती कविताहरूमा देश थियो, प्रवास थियो, दशैँ थियो अनि जान लागेको शरद्को टुक्रा र आउन लागेको तिहारको फूल । कविता बोल्नेमा अशोक राई थिए, डि.बी. पालुङ्वा थिए, केन्द्रमा थिई धपक्क बलिरहेकी "अन्तराष्ट्रिय अदालतमा रामको अग्नि परीक्षा र नाङ्गी द्रौपती " की रचयिता कवियत्री दीपा एवाई राई । स्रोता भन्यौ या समिक्षक थियौ अरुण र म । पहिला डि.बी. पालुङ्वाको कविता "नागरिक सर्वोच्चतमा मेरो मत जाहेर" कवितामा निकै लामो बहस भयो । त्यो कविताले नागरिक सर्वोच्चतामा हाम्रो मत जाहेर गरेको थियो । अनि त्यस साँझ महफिलमा जमे दीपाका कविताहरू "युगान्ती सौता हुँ हजुर, एक अर्धवृत परिधिबाट तिमीलाई आव्हान छ ।" उनका कविताहरूले युगको आव्हान गरिरहेका थिए, त्यहाँ सुन्यौ विगत र वर्तमानको शंख घोष । समयका समानान्तर कविता ओर्लिरहेका थिए जगतमा ।
म्याकडोनाल्डको जाडोले कान समाइरहेको थियो, विचरा आँखाहरू टुलुटुलु हेरिरहेका थिए पर पर साँझको क्षितिज ! बिमल राईको बारेमा अघिल्लो दिन मात्र विशेष रंगवादी कवि धर्मेन्द्रविक्रम नेम्बाङ्सँग सम्पर्क भएको थियो । उनले सुनाए, "हङकङको ठूलो खाममा गीत बोकेर बिमलजी डा.गोविन्दराज भट्टराईको घरमा जमेको साहित्यिक कार्यक्रममा पुगेका थिए । उनका गीतहरू निकै जमे ।" यो समाचार डबलीमा सुनाएँ । सबैले त्यो समाचारलाई उसको उपस्थिति माने । यसै सिलसिलामा मैले नेपाल जाँदाको केही जानकारी सुनाए ब्रेकमा । डा. गोविन्दराज भट्टराईद्वारा लिखित उत्तर आधुनिक विमर्शको "हङकङेली नेपाली साहित्य" बि.ए.को नेपाली विषयको पाठयक्रममा यसै शैक्षिक सत्रदेखि पढाइ हुन थालेको । यो सुनेर सबैलाई उत्साह र हर्षलाग्यो । डि.बी. भन्दैथिए, "हाम्रा दुःख नेपालले देख्दैरहेछ ।" अनि सुनाएँ, हामीले प्रकाशित गरेको पुस्तकहरू सम्बन्धीत समालोचकको हातमा, पुस्तकालय र सामाजिक संस्थातिर नगएको कुरा । त्यसलाई हामीले आफ्नो कमजोरी मान्यौ । फेरि म गफिन थालेँ, "त्रिभुवन विश्व विद्यालयका सोधका विद्यार्थी दीपक सुबेदीले हङकङेली नेपाली कला र साहित्यको थेसिस बुझाउँदै छन् । " यसले पनि रमाइलो थप्यो ।
चन्द्र सम्बाहाम्फे जो हाम्रा सहयात्री थिए, यस कवितामय साँझमा भोलिको कामको चपेटाले उपस्थित हुन सकेनन्, हामीलाई अभाव खड्किरहृयो । किनभने उनी एउटा हङकङका पुराना राम्रा कवि र समालोचक थिए ।
अरुणले यी सबै सुनेर आफ्नो व्यक्तिको मत जाहेर गरे । उनको जाहेरी जहिले पनि न्युट्रल प्लस पोजेटिभ हुने गर्छ ।
त्यो डबली साहित्यकारहरूको थियो, आकाशजस्तै । हामी त्यस साँझमा पनि मन फारी फारी हेरिरहेका थियौ, जोर्डन, वानचाइ, युनलङ, हङकङका समुद्र, डाँडापाखा र बिबिक्युका भरिलो स्पटहरू कोही आउँदैछन् कि भनेर । त्यो हेराइ बिमल राई, अशोक राईका शब्द शब्दमा निकै अगाडिदेखि बोलिरहेका थिए । सिङ्गो हङकङेली साहित्य एउटा रेलगाडीमा जाँदैथियो, हामी साना साना डिब्बामा समेटिएर समानान्तर मनका धनीहरू हिँडिरहेका थियौ ।
त्यहाँ छुटिरहेका थिए, बर्तोल्त ब्रेख्त, शेली, धर्मवीर भारती, सुजन सोन्टयाग, देवकोटा, पारीजात र काइलाहरू । दशैंले छोडेर गएको सायपत्री, गोदावरी, लालुपाते र पहेँलो जमरा सम्झियौ हामीले ।
अशोकले पढेर सुनाए मेरा पुरानो कविता "हङकङमा कविताबाट" कता कता मन पुरानो कुराहरूले भरिएर आयो । नेपालबाट मैले समष्टि पत्रिका लिएर आएको थिएँ । त्यो पत्रिका कृषि विकास बैंकबाट निस्किन्थ्यो, यसका सम्पादक कृष्ण धराबासी थिए । यो पत्रिका चर्चा गर्नुको कारण यस कवितामा अशोक राईको "अलर्ट रातहरू" कविता छापिएको थियो । त्यसमा पनि एक कलम चर्चा गर्‍यौँ ।
म्याकडोनाल्टको जाडो हामीलाई निलिरहेको थियो । त्यस कवितामय साँझमा २०६६ सालको दशैँ हामीलाई छोडेर जाँदैथ्यो, आउँदैथ्यो तिहारका हँसिला फूलहरू । हङकङका चिनाहरूलाई मून केक फेस्टिबलले निलेर छोक्रा बनाएको थियो भरखरै । हामी नेपालीलाई भने साँगुरी डाँडा, माछापुछ्रे हिमालबाट आइरहेको देउसी, भैलोको मनप्रिय आवाजले छुन छुन खोजेको थियो । सायपत्री, मखमली, लालुपाते, गोदावरी फूलहरू तिहार बोलाइरहेका थिए । हामीले पनि यही म्याकडोनाल्टको टेबलकुर्सीभरि सात्रपत्री, मखमली, लालुपाते, देउसी, भैलो सबै कविता बोकेर फुलोस भनेर कामना गर्‍यौ । भोलिपल्ट दीपाले फोन गरेर "दाई हाम्रो कोषको पैसा उठाउन त भुलिएछ नि" भनिन् । मैले त्यतिखेर सिग्मैण्ड फ्रइडको गल्तीको मनोविज्ञानः ३ सम्झिन पुगेँ ।

Friday, October 9, 2009

साथीका आँखामा चे ग्वेभारा

विनोदविक्रम केसी
करोडौँ मानिसका लागि चे ग्वेभारा क्रान्तिको प्रतीक हो । लाखौँका लागि ऊ क्राइस्ट नै हो । उसो त उसलाई सैतान ठान्नेहरू पनि कम छैनन् । नायक र खलनायकको बहस चेका सन्दर्भमा जति भएका छन्, त्यति सायदै इतिहासमा अरू कसैका सन्दर्भमा भएका छन् । तर, मेरा लागि चे केवल एक साथी हो, जसको तस्बिर नाइट क्लबमा उन्मत्त नाचिरहेकी तरुनीदेखि दर्शनशास्त्रको गम्भीर प्राध्यापकसम्मका छातीमा टाँसिएका छन्, त्यो मेरो साथी हो । यौटा मिथकको मित्र हुनुको गर्व र रोमाञ्च आजका मितिसम्म अनुभूत गरिहेको छु म । चेसँग मेरो पहिलो भेट सन् १९४२ मा भएको थियो । पछि १९४५ मा चेको परिवार मेरो गृहनगर कोर्दाबामा बसाइँ सर्‍यो । कोर्दाबामा हाम्रो पहिलो भेट पुलिसचौकीमा भएको थियो । हाइस्कुलको विद्यार्थी विद्रोहमा सहभागी भएका कारण म समातिएको थिएँ । चे मेरो भाइ तोमससँग मलाई भेट्न आएको थियो । १७ वर्षीय यस ठिटोको अनुहारमा आफ्नो उमेर नसुहाउँदो उदासी र गम्भीरता पोतिएका थिए । आँखा उधुमै चम्किला । तर, मान्छे अलि फोहोरी, फोहरीखालको । जम्माजम्मीमा, ऊ प्रभावशाली व्यक्तित्व भएको मान्छे थियो ।
र, हामी असाध्यै मिल्ने साथी बन्यौँ । तर, चे सहज र सामान्य साथी भने थिएन । जिद्दी थियो, असाध्यै जिद्दी थियो । आफ्नो विश्वास र अडानमा एकरौँ यताउति नहल्लिने । उसले ठान्यो पछि ठान्यो, ठान्यो । माक्र्सवाद उसका लागि प्रथम र अन्तिम सत्य थियो । म ऊभन्दा ६ वर्ष जेठो थिएँ, तर उसको शक्तिशाली चुम्बकीय व्यक्तित्वका अगाडि निरीह आलपिन सावित हुन्थेँ ।
म उसलाई भन्ने गर्थेँ, 'यार, बाँच्नका लागि सम्झौता पनि गर्नुपर्छ ।' सम्झौता भन्ने शब्द सुन्नेबित्तिकै भडि्कने गथ्र्याे ऊ । सम्झौता, दासता, कायरता, पुँजीवाद, साम्राज्यवाद...चेले आजीवन घृणा गरेका शब्द हुन् यी । हुन त म पनि क्रान्तिकारी थिएँ । चेले भन्दा कम्ती माक्र्सवाद पढेको थिइनँ मैले पनि । तर, चे अर्कै तत्त्वले बनेको मान्छे थियो ।
त्यो यात्रा जसले चेलाई चे बनायो
सन् १९५२ मा चे र म ल्याटिन अमेरिकाको भ्रमणमा निक्लने भयौँ । तिनताका अर्जेन्टिनामा हामी फुटबल र ट्यांगो नाच उत्कर्षमा पुगेको युगमा थियौँ । एक प्रकारले हेडोनिजम (भोग-विलासवाद) पनि उत्कर्षमै थियो । हाम्रो यो यात्राको उद्देश्य पनि साहसिक घुमफिर र रमाइलो नै थियो भन्न सकिन्छ । कम्तीमा मेरा निम्ति त यस्तै थियो । सत्य, यो यात्राले चेको सोच र व्यक्तित्वमा भयानक उलटफेर गराउला भन्ने मैले सोचेकै थिइनँ ।
त, मैले त्यतिबेला आठ सय डलरमा किनेको मोटरसाइकल ला पोदेरोसा चढेर निक्लियौँ हामी ल्याटिन अमेरिकाको सयर गर्न । यो मोटरसाइकल वास्तवमा ज्ञान र स्वतन्त्रताप्रतिको हाम्रो उत्सुकताको प्रतीक थियो ।
अर्जेन्टिनाबाट चिली पुग्नेबित्तिकै हामीसँग भएको पैसा सकियो । अब हामी 'उठ् जोगी फट्कार छाला, जहाँ जाला त्यहाँ खाला' भन्ने स्थितिमा पुगेका थियौँ । तर, मान्छेहरूलाई हात लिन सक्ने चेको जादुमय कौशलका कारण हामी जहाँजहाँ पुग्यौँ, त्यहाँत्यहाँ हामीले मानिसका आतिथ्य पायौँ ।
चिलीको लसएन्जेलस पुगेपछि भने ला पोदेरोसा हामीले मर्मतै गर्न नसक्ने गरी बिगि्रयो । यो मोटरसाइकल हाम्रो प्राण थियो भने पनि हुन्छ । अझ, ला पोदेरोसासँग मेरो यति भावनात्मक लगाब थियो कि यसलाई यौटा कुनामा यत्तिकै मिल्काएर हिँड्नु मेरा निम्ति असाध्यै पीडादायी थियो । तर, यात्रा त पूरा गर्नु नै थियो । त्यसैले डुंगा, घोडा, ट्रक, जे भेटिन्छ त्यसैमा सवार भएर हामीले अर्जेन्टिना, चिली, कोलम्बिया र भेनेजुएलाको यात्रा सम्पन्न गर्‍यौँ । ल्याटिन अमेरिकाको एकसरो भ्रमण गरिछाड्यौँ ।
यस यात्राले हामीलाई ल्याटिन अमेरिकाले भोगिरहेको पीडा, अन्याय, असमानता र गरिबीसित भलिभाँती परिचित गरायो । अमेरिकी आधिपत्यले निबुवा निचोरे जसरी शोषण गरेको थियो ल्याटिन अमेरिकालाई । यस यात्राले चेको अन्तरमा रहेको ज्वालामुखीलाई विस्फोट गराइदियो । अब चे शिरदेखि पाउसम्म तातो न तातो लाभा भएको थियो । म ठोकुवा गर्छु- यस यात्राले चेलाई चे बनाएको थियो ।
यस यात्रामा भइपरिआएका तितामिठा घटनाहरूको बयान गरिसाध्य छैन । चिलीको इस्टर द्वीपमा पुगेका थियौँ हामी । त्यहाँ महिलाको संख्या अत्यधिक थियो । एउटै मानिसका एघारवटासम्म पत्नी हुन्छन् रे भन्ने सुनेपछि हामी त्यता हानिएका थियौँ । अतिथिहरूको मानमनितो पनि गज्जबले गरे इस्टरवासीले । स्थानीय ठर्रा खुब खाइयो । एउटी उत्ताउली चेसित झुत्तिएर हैरान ! पछि त उसको श्रीमान्ले केही मानिस जम्मा गरेर हामीलाई घेरिहाल्यो । मेरी श्रीमतीलाई भाँड्न खोज्ने भनेर हामीसित पाखुरा सुर्किइहाल्यो । तैतै सबैजना मातेका थिए । जति सुर्रिए पनि हामीलाई कुटिहाल्न सक्ने स्थितिमा भने थिएनन् । मोरीले झन्डै मराएकी !
हामी जतिजति घुम्दै जान्थ्यौँ, त्यतित्यति हाम्रा मानिसमाथि गरिएका अन्यायले हाम्रा आँखा खोल्दै जान्थे । अमेरिकाले चिलीमा चलाएको यौटा टिन खानीमा पुगेका थियौँ हामी । यस खानीमा काम गर्ने अधिकांश मजदुर सिलिकोसिस भनिने रोगले ग्रस्त थिए । सिलिका भनिने बालुवामा पाइने कणयुक्त हावामा सास फेर्दा फोक्सोमा नराम्रो क्षति गर्ने रोग हो यो । लगभग मृत्युको मुखमा पुगेका मजदुरहरूलाई अमेरिकाले यसरी रात-दिन जोतेको देखेर चे रिसले बौलाहाजस्तै भएको थियो ।
यसै यात्राका क्रममा सान पाब्लो भन्ने ठाउँमा कुष्ठरोगीहरूको बस्तीमा काम गर्न पुगेका थियौँ हामी । यस बस्तीमा जानलाई यौटा विशाल नदी तर्नुपर्थ्यो । नदी तर्नै नसक्ने गरेर उर्लिएको थियो । नदीपारि केही कुष्ठरोगीहरू हामीलाई पर्खिरहेका थिए । डाक्टर अर्थात् हामी (तर, चे डाक्टर भइसकेको थिएन) आउँदै छौँ भन्ने खबर पाएर उनीहरू चौपट्टै खुसी भएका थिए किनभने कुष्ठरोगीहरूको बस्तीमा डाक्टरहरू प्रायः जाँदैनथे । त, हामी वारि, उनीहरू पारि ! रातको समय । 'म त तर्न सक्दिनँ, तँलाई मर्न मन लागेको छ भने तर्' भनेर म नदीको किनारमा लम्पसार परेँ । चे अघिपछि नसोची हेलियो पानीमा र पुग्यो पारि । किनारमा बसेका कुष्ठरोगीहरूले उसको यस्तरी स्वागत गरे, मानौँ ऊ उनीहरूको मसिहा थियो । मैले भने नदीमा पस्ने हिम्मत गर्न सकिनँ । डुंगा चढेर पार गरेँ ।
त्यस बस्तीका मानिसका उपचारमा हामी अहोरात्र खटियौँ । भोक-तिर्खा सबथोक बिर्सेको थियो चेले । 'अब तिमी पक्का फिल्यान्थ्रोपिस्ट (परोपकारी) भयौ,' म उसलाई भन्ने गर्थेँ । 'फिल्यान्थ्रोपि्रस्ट भनाउँदाहरू ढोंगी हुन् । म त क्रान्तिकारी हुँ,' ऊ हाँसेर भन्ने गर्थ्यो ।
हाम्रो यो यात्रा नौ महिनापछि भेनेजुएलाको राजधानी काराकासमा पुगेर टुंगियो । तर, त्यस यात्राको धङधङी र त्यस यात्रामा हामीले हासिल गरेकेा राजनीतिक चेतना र क्रान्तिकारी प्रखरता भने जिन्दगीभर रहिरह्यो । म कुष्ठरोगसम्बन्धी थप अनुसन्धान गर्न काराकासमै बसेँ भने चे डाक्टरी पूरा गर्न बुएनस आयर्स गयो ।

**
सन् १९५९ मा क्युबामा क्रान्ति सफल भएपछि चेले मलाई क्युबा बोलायो । क्युबा वास्तवमा मेरो सपनाको देश थियो । क्युबा यस्तो देश थियो, जहाँ मानिस वैज्ञानिक या कलात्मक दृष्टिले आफूलाई उन्नत बनाउन लागि परेका थिए । उता, सिंगो विश्व भने भोग/उपभोगबाहेक केही सोच्नै नसक्ने भएको थियो ।
क्युबामा मैले सान्टिएगो स्कुल अफ मेडिसिन स्थापना गरेँ । लामो समयसम्म मैले यसमा काम गरेँ । हाल म क्युबामा रिटायर्ड जीवन बिताइरहेको छु ।
**
चे ग्वेभारा स्वभावैले साहसी मान्छे थियो । ऊ कहिल्यै कसैसामु झुकेन । 'म कसैका अगाडि घुँडा टेक्ने मान्छे होइन । तिमीहरू केवल यौटा मान्छेलाई मारिरहेका छौ । म भनेकेा विचार हुँ,' बोलिभियामा हत्या गरिनुअघि उसले यसो भनेको थियो रे । उसले सत्य बोलेको थियो, बिल्कुल सत्य । मैले सुनेअनुसार सिआइए समर्थित बोलिभियाली राष्ट्रपति रेने बारिएन्तोसले चेलाई मार्ने आदेश दिए पनि उसलाई गोली ठोकेर मार्न बोलिभियाली सैनिकले हिम्मत गर्न सकेनन् । अन्तमा एक जँड्याहा अफिसरलाई पैसाको लालच देखाएर चेलाई गोली ठोक्न लगाइएको थियो रे ।
उसको हत्या भएको दिन म दुई कारणले रोएँ । पहिलो- यौटा सबभन्दा नजिकको, सबभन्दा आत्मीय मित्रको वियोगका कारण । दोस्रो- १९५२ को यात्रा थाल्नुअघि 'तपाईंहरूका छोरालाई सकुशल फिर्ता ल्याउनेछु' भनेर चेका बा-आमालाई गरेको प्रतीज्ञा पूरा गर्न नसकेका कारण ।
क्यास्ट्रोसँग खटपट परेका कारण उसले क्युबा छोडेको हो भन्ने एकथरीको भनाइलाई म स्वीकार गर्दिनँ । चे यति विशाल थियो कि ऊ न डाक्टरी पेसामा अटाउँथ्यो, न अर्जेन्टिनामा, न क्युबामा । ऊ सारा संसारमा क्रान्ति गर्न हिँडेको थियो ।
म चेका दुई गुणबाट कायल थिएँ । उसको इमानदारी र नकारात्मक चिजलाई सकारात्मकमा रूपान्तरण गर्न सक्ने क्षमता । आजको युवापुस्ताले उसलाई किन अनुसरण गर्नुपर्छ भने ऊ आफूले सही र उचित ठानेको चिजका पक्षमा आजीवन लडेको थियो र त्यसैका लागि मरेको थियो । समयसँगै धेरैभन्दा धेरै राष्ट्रहरू भ्रष्टहरूबाट शासित हुँदै जाँदा चेको क्रान्तिकारी व्यक्तित्व झन्झन् विशाल र महान् हुँदै गयो । ऊ कुनै भगवान् होइन । यस्तो मानिस थियो हो ऊ, जो आफूले गरेको काममा आफ्नो भएभरको क्षमता ओइराउँथ्यो र जसको यो प्रवृत्ति सदा अनुकरणीय छ ।